साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।

इरान समर्थित हुथी समूहको यो दाबी साउदी अरेबियामा भएका श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र त्यसको जवाफमा यमनी सरकारले हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गर्ने घोषणा गरेको एक दिनपछि आएको हो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रबाट सफलतापूर्वक निशाना बनाइएको दाबी गरेका छन्। उनका अनुसार आक्रमणका कारण विमानस्थलको सञ्चालन प्रभावित भएको थियो।

यो साता हुथी समूहले उक्त विमानस्थलमाथि आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो। सारीले साउदी अरेबियाको हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन्।

सन् २०१४ देखि यमनमा जारी गृहयुद्धमा हुथी समूहले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राख्दै आएको छ। समूहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि संघर्ष गरिरहेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लामो समयदेखि जारी द्वन्द्वका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ। सरकारले हुथी लडाकुलाई लाल सागर र बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ।