‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने घरेलु उपभोक्तालाई थप सुविधा दिने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम सञ्चालनमा ल्याएको हो।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अब अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले हाल पाइरहेको दुई प्रतिशत छुटसँगै थप शून्य दशमलव पाँच प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ पाउनेछन्। यससँगै डिजिटल माध्यमबाट बिल तिर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन्।

उनका अनुसार पहिलो चरणमा उक्त कार्यक्रम छ महिनाका लागि सञ्चालन गरिनेछ। अनलाइन भुक्तानीलाई सहज र प्रोत्साहनमूलक बनाउँदै ग्राहकलाई घरबाटै विद्युत् महसुल तिर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो।

प्राधिकरणले अनलाइनमार्फत महसुल भुक्तानी गर्दा समय र आवतजावतको खर्च बचत हुने भएकाले ग्राहकलाई डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरेको छ।

काउन्टरमा जाने ७३ प्रतिशत ग्राहक

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पनि विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन्।

उनका अनुसार अहिले पनि करिब ७३ प्रतिशत ग्राहक विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमा पुग्ने गरेका छन्। डिजिटल प्रविधिको प्रयोग बढिरहेको अवस्थामा ठूलो संख्यामा ग्राहक काउन्टरमै पुग्ने अवस्थालाई परिवर्तन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताएका छन्।

डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत गर्नुका साथै नगद कारोबार घटाएर वित्तीय पारदर्शिता र सुरक्षासमेत बढाउने उनको भनाइ छ। काउन्टर सञ्चालनमा खटिने स्रोत तथा जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनले बताएका छन्।

काउन्टर सञ्चालनमा वार्षिक करिब ६० करोड खर्च

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल सङ्कलन काउन्टर सञ्चालनमा छन्। ती काउन्टर सञ्चालनका लागि मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताएका छन्।

काउन्टर सञ्चालनमा मासिक करिब पाँच करोड रुपैयाँ खर्च हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानी बढाउन सके उक्त खर्च घटाउन सकिने बताएका छन्।

उनले परिवार, इष्टमित्र, छरछिमेकी तथा आफन्तलाई डिजिटल माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न सिकाउन र प्रोत्साहित गर्नसमेत आग्रह गरेका छन्।

विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने अभिभावक, ज्येष्ठ नागरिक तथा आफन्तलाई सिकाइदिन आग्रह गर्दै मन्त्री श्रेष्ठले केही मिनेटको सहयोगले उनीहरूको हरेक महिनाको समय बचत हुने बताएका छन्।

उनका अनुसार डिजिटल भुक्तानी विस्तार गर्नु केवल प्रविधिको प्रयोग बढाउने विषय नभई नागरिकको समय बचत, सेवा प्रवाहमा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडिएको अभियान हो।