काठमाडौँ । दसैँका लागि लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । टिकट बुकिङ खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ । केही यात्रु बिहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् ।
सरकारले दसैँमा घर जाने यात्रुको सुविधालाई ध्यानमा राख्दै शुक्रबारदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार राति ९ बजेदेखि नै यात्रु टिकट लिन लाइनमा बस्न थालेका थिए ।
उनका अनुसार बझाङ, बाजुरा र धनगढी जाने यात्रु टिकट लिन बिहीबार रातिदेखि नै नयाँ बसपार्क पुगेका हुन् ।
दसैँको अग्रिम टिकट बुकिङलाई सहज बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको छ ।






