पोखरा स्कुल बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ५ पुग्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

शुक्रबार बिहान भएको दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकामा थप दुई बालिकाको पनि मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ । मृत्यु भएकाहरूको पहिचान भने खुल्न सकेको छैन । उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक विवरण छ । तीमध्ये २१ जना कक्षा १० का विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।