चितवन । विश्व अण्डा दिवसको अवसरमा चितवनमा आज ‘वाक’ कार्यक्रम आयोजना गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिको आयोजनामा कार्यक्रम गरिएको हो।
उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गर्दै दिवसको शुभारम्भ गरिएको थियो। कार्यक्रममा सहभागीले डिजे म्युजिकको तालमा नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ‘एक वाक’ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
सङ्गीतको तालमा नाच्दै सहभागीले विभिन्न स्थान हुँदै पदयात्रा गरेका थिए। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार वाक अस्पताल रोड, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, पुनः चौबीसकोठी र एयरपोर्ट चोक हुँदै उद्योग संघको परिसरमा पुगेर समापन गरिएको थियो।
कार्यक्रममा सहभागीले मानव स्वास्थ्यमा अण्डाको महत्व झल्काउने झाँकीसमेत प्रस्तुत गरेका थिए। अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका र सन्तुलित आहारमा यसको आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको संघले जनाएको छ।
अण्डा प्रोटिनलगायत विभिन्न पोषक तत्त्वको महत्वपूर्ण स्रोत हो। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाइन्छ। यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।
सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ।
(रासस)






