नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरेको हो।

नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश तहका निर्वाचनको तयारी गर्नुका साथै सरकारका जनविरोधी र अराजक गतिविधिविरुद्ध आन्दोलनको तयारी गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

बैठकले आगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडा अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, माघ १५ गते देशभरका सबै पालिकामा एकैदिन पालिकास्तरीय अधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने उनले जानकारी दिए।

बैठकले ‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयमा सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित विशेष प्रस्तावसमेत पारित गरेको छ।

यस्तै, युवा क्षेत्रका गतिविधिलाई प्राथमिकता दिँदै पार्टीका कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने निर्णय बैठकले गरेको छ। प्रवासमा पार्टीको काम विस्तार गर्नुका साथै श्रमजीवी मजदुर र किसानबीचका गतिविधिलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णयसमेत गरिएको प्रवक्ता ज्वालाले बताए।