काठमाडौँ । निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईसहित चार जनाविरुद्ध भ्रष्टाचार, ठगी तथा खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
मुद्दा दायर गरिएकामध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार रहेको जनाइएको छ। एन्फामा भएको आर्थिक अनियमितता, खेलमा मिलेमतो र फिफा विश्वकपका टिकटको अपचलनसम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।
सरकारी वकिलको कार्यालयका अनुसार प्रतिवादीहरूबाट कुल ९३ लाख ९०० रुपैयाँ बिगो कायम गरी क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ।
नेपाल–बहराइन खेल सारेर राजस्व अपचलन गरेको आरोप
अभियोगपत्रमा फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौँको दशरथ रङ्गशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको खेल नियतवश बहराइनमा सारिएको उल्लेख छ।
उक्त खेल बहराइनमा सञ्चालन गरेबापत त्यहाँको फुटबल सङ्घबाट एन्फाले टिकट बिक्रीको राजस्वस्वरूप पाउनुपर्ने २० हजार अमेरिकी डलर संस्थाको बैंक खातामा दाखिला नगरी अपचलन गरिएको अभियोगपत्रमा जनाइएको छ।
त्यस्तै, एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार १० लाख रुपैयाँभन्दा बढीको खरिदमा अनिवार्य रूपमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहे पनि एउटै स्वामित्वका तीनवटा नक्कली फर्म खडा गरी कोटेसनमार्फत खेल सामग्री खरिद गरिएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ।
विश्वकपका ३३० टिकटको अपचलन
फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएका ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबजारी तथा व्यक्तिगत रूपमा किनबेच गरिएको आरोपसमेत लगाइएको छ।
यसैगरी, शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताअनुसार एन्फाको खातामा जम्मा हुनुपर्ने रकम संस्थाको खातामा दाखिला नगरी महासचिव किरण राईले २५ लाख रुपैयाँ व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको अनुसन्धानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ।
९३ लाख ९०० रुपैयाँ क्षतिपूर्ति माग
सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा एन्फालाई अमेरिकी डलर ५० हजारको नेपाली रुपैयाँ ६६ लाख ५३ हजार ९०० र अमेरिकी डलर २० हजारको नेपाली रुपैयाँ २६ लाख ४७ हजार गरी कुल ९३ लाख ९०० रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गरेको छ।
अमेरिकी डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा सन् २०२४ मार्च ४ को विनिमय दर प्रतिडलर १३२ रुपैयाँ ३५ पैसा कायम गरिएको अभियोगपत्रमा उल्लेख छ।
चारै प्रतिवादीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा परिभाषित खेलमा मिलेमतो तथा अनियमिततासम्बन्धी कसुर गरेको भन्दै दफा ३२ र ३३ बमोजिम सजायको माग गरिएको छ।
त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगीसम्बन्धी कसुरमा पनि सजायको मागदाबी लिइएको छ। अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनसमेत सरकारी वकिलको कार्यालयले माग गरेको छ।
थप संलग्नता खुले अनुसन्धान अघि बढाइने
अभियोगपत्रमा फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईका नाममा अदालतबाट म्याद जारी गर्न अनुरोध गरिएको छ।
यस घटनामा अन्य पदाधिकारी, कर्मचारी वा व्यक्तिको संलग्नता रहेको तथ्य र प्रमाण पछि फेला परेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी लिइने पनि अभियोगपत्रमा उल्लेख छ।
त्यस्तै, प्रतिवादीहरूले कसुरबाट सम्पत्ति आर्जन गरी अन्यत्र प्रयोग गरेको तथ्य प्रमाणबाट पुष्टि हुने अवस्था आएमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ।






