काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
सरकारले राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरेको भए पनि राष्ट्रपति कार्यालयबाट हाल एउटा मात्रै अध्यादेश जारी भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐन र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याइएको हो । अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न लाग्ने समय घटाउने व्यवस्था समेटिएको छ ।
हाल प्रचलित व्यवस्थाअनुसार १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने प्रावधान छ । नयाँ अध्यादेशले विपद्सँग सम्बन्धित घटनामा भने ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ ।
त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि त्यसमा उल्लेख गरिएका कानुनी व्यवस्था लागू हुनेछन् ।






