चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट भन्सार छली तथा बिलबिजकबिना ल्याइँदै गरेका रु १४ लाख ३६ हजार ६३५ बराबरका सामान बरामद गरेको छ । प्रहरीले सामान ओसार्न प्रयोग गरिएका दुई वटा ई–लोडरसमेत नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट बिलबिजकबिना दुई वटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको हो ।

गणका सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामानको मूल्य रु तीन लाख ३४ हजार ९४५ रहेको छ । सामान ओसारपसारमा प्रयोग गरिएका दुई वटा ई–लोडरको मूल्य रु १० लाख रहेको प्रहरीले जनाएको छ ।

सामान र ई–लोडरसहित रु १३ लाख ३४ हजार ९४५ बराबरको सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा सीमा क्षेत्रबाट भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ ।

बरामद गरिएका ती सामानको मूल्य रु एक लाख एक हजार ६९० रहेको प्रहरीले जनाएको छ । उक्त सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

पर्साका विभिन्न सीमा क्षेत्र तथा बजारमा सशस्त्र प्रहरीले भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी बढाउँदै आएको छ ।