ककरोच पार्टीको प्रदर्शनअघि दिल्लीमा २४ घण्टा इन्टरनेट बन्द गर्ने भारत सरकारको निर्णय

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) ले प्रदर्शनको तयारी गरिरहेका बेला भारत सरकारले दिल्लीका केही क्षेत्रमा २४ घण्टाका लागि इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

भारतको केन्द्रीय गृह मन्त्रालयले दिल्लीका निश्चित क्षेत्रमा इन्टरनेट सेवा निलम्बन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो। सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबारदेखि दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि सरकारले यस्तो निर्णय गरेको हो।

प्रदर्शनलाई लक्षित गर्दै गृह मन्त्रालयले जनपथ–कर्तव्य पथ चोक आसपासको चार किलोमिटर क्षेत्रभित्र इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गर्ने आदेश जारी गरेको छ। उक्त आदेशअनुसार आज राति १० बजेदेखि भोलि राति १० बजेसम्म इन्टरनेट सेवा निलम्बन हुनेछ।

सरकारको निर्णयप्रति प्रतिक्रिया दिँदै सीजेपीका सहसंयोजक सौरभ दासले भारत सरकार नै लकडाउनको अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारत सरकार लकडाउनमा छ। यो युवाहरूको शक्ति हो। तपाईंहरू सबैसँग भोलि भेटौँला।’

यसअघि प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका ५७ वटा स्टेसनमा प्रवेश तथा बाहिरिने मार्ग बन्द गर्ने निर्णयसमेत गरिएको थियो। त्यसैगरी, दर्जनौँ रेल सेवासमेत रद्द गरिएका छन्।

प्रदर्शनअघि इन्टरनेट सेवा निलम्बन, मेट्रो स्टेसनका प्रवेशद्वार बन्द तथा रेल सेवा रद्द गर्ने निर्णयले दिल्लीको यातायात र सञ्चार सेवामा प्रभाव पर्ने देखिएको छ।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको देखिन्छ। यद्यपि, इन्टरनेट सेवा निलम्बन र यातायातसम्बन्धी प्रतिबन्धले प्रदर्शनकारीसँगै सर्वसाधारणलाई समेत असर पार्न सक्नेछ।