फोटो पत्रकारिताको व्यावसायिक क्षमता विकासमा र कपिराइट संरक्षण आवश्यक : प्रदीपराज वन्त

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिताको व्यावसायिक क्षमता विकाससँगै फोटो पत्रकारहरूको हकहित संरक्षणमा जोड दिएका छन्।

शनिबार आयोजित समूहको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले प्रविधिमा भइरहेको तीव्र विकास र प्रतिलिपि अधिकार संरक्षणका चुनौती सामना गर्न संस्था थप सशक्त, व्यवस्थित र आत्मनिर्भर बन्नुपर्ने बताएका हुन्।

उनले फोटो पत्रकारहरूले तस्बिर खिच्ने काममा मात्र सीमित नभई व्यावसायिक सीप, संस्थागत नेतृत्व क्षमता र आफ्नो पेसागत अधिकारका विषयमा समेत सचेत हुनुपर्ने बताए। नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्दै संस्थाको जिम्मेवारी हस्तान्तरण गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

फोटो पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षण प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै वन्तले यस विषयमा गम्भीर बहस आवश्यक रहेको बताए। नेपालमा फोटो पत्रकारिताको प्रतिलिपि अधिकारलाई पर्याप्त प्राथमिकता नदिइएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रिय फोटो पत्रकार समूहको २९औँ वार्षिक साधारण सभामा आइपुग्दा म दोस्रो कार्यकालको अन्तिम वर्षमा प्रवेश गर्दै छु। संस्थाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, हकहित संरक्षण र योगदानको अभिलेखीकरणमा काम गर्दै आएको छ। तर, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग र फोटोको प्रतिलिपि अधिकार संरक्षणका विषयमा हामीले निरन्तर छलफल गर्नुपर्छ।”

फोटो प्रयोग गर्दा सम्बन्धित फोटो पत्रकारको अनुमति लिनुपर्ने र उनीहरूको अधिकार तथा श्रमको सम्मान गरिनुपर्नेमा उनले जोड दिए। यसका लागि स्पष्ट कानुनी व्यवस्था निर्माण गर्नुका साथै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्ष वन्तले संस्थालाई बाह्य सहयोगमा मात्र निर्भर नराखी आफ्नै स्रोत र साधनबाट सञ्चालन गर्न सक्ने बनाउनुपर्ने बताए। संस्थाको दीर्घकालीन विकासका लागि आर्थिक आत्मनिर्भरता र संस्थागत सुदृढीकरण आवश्यक रहेको उनले उल्लेख गरे।

नयाँ पुस्तालाई नेतृत्वका लागि सक्षम बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताउँदै उनले फोटो पत्रकारहरूको पेसागत सुरक्षा, अधिकार संरक्षण र क्षमता अभिवृद्धिका लागि संस्थागत बहस तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।