म्याग्दी । मौसममा सुधार आएपछि धौलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ । प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली अनुकूल मौसम भएपछि पुनः आधार शिविर पुगेर चुचुरोतर्फ अघि बढेको हो ।
विश्वको सातौँ अग्लो हिमाल धौलागिरिको उचाइ आठ हजार १६७ मिटर छ । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित छ । आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटर माथिसम्म पुगेको सेभेन समिट टेकका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए ।
उनका अनुसार प्रतिकूल मौसमका कारण कम्पनीका नेपाली तथा विदेशी गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरी असोज ८ गते पोखरा ल्याइएको थियो । मौसममा सुधार आएपछि अक्टोबर १ मा पोखराबाट प्रस्थान गरेको टोली अहिले आधार शिविर हुँदै चुचुरोतर्फ अघि बढेको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र भारी हिमपातका कारण आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीहरूले आरोहण स्थगित गरेका थिए । मौसममा सुधार आएपछि आधार शिविरमा रहेको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेर यात्रा पुनः सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार अहिले हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल भएको छ । भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि तुलनात्मक रूपमा कम भएको उनले बताएका छन् ।
पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार चालु शरदयाममा धौलागिरि आरोहणका लागि चार समूहका ३६ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा २६ पुरुष र १० महिला छन् । आरोहण अनुमतिबापत सरकारले ८२ लाख ४२ हजार ५० रुपैयाँ दस्तुर सङ्कलन गरेको विभागले जनाएको छ ।
म्याग्दीको दानाका व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार अन्य कम्पनीका पर्वतारोही टोली पनि धौलागिरि आधार शिविर पुगिसकेका छन् ।
गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए । छिनछिनमै परिवर्तन भइरहने मौसम यहाँको आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहण कठिन, जोखिमपूर्ण र साहसिक मानिन्छ ।
सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्विस–अस्ट्रियाली संयुक्त आरोहण दलले पहिलोपटक धौलागिरि हिमालको चुचुरोमा पाइला राखेको थियो । त्यसयता आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरिको शिखरमा पुगिसकेको विवरण छ ।
धौलागिरि क्षेत्रमा हिमाल आरोहणका अतिरिक्त ‘राउन्ड धौलागिरि’ पदयात्रा पनि पर्यटकमाझ लोकप्रिय छ । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धौलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फा पुगेर यो पदयात्रा पूरा गरिन्छ । करिब नौ दिनमा सम्पन्न हुने यस पदमार्गले पर्यटकलाई हिमाली प्राकृतिक सौन्दर्यको अनुभव गराउँछ ।






