पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित

काठमाडौं– पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनात्मक अनुसन्धान अघि बढाउँदै थप अस्थायी निलम्बनको निर्णय गरेको छ।
महासंघले सन् २०२६ अक्टोबर ९ मा रोनाल्डोविरुद्ध अनुशासनात्मक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। शनिबार सार्वजनिक गरिएको वक्तव्यअनुसार अक्टोबर ७ मा भएको घटनाको अनुशासनात्मक पक्षबारे छानबिन गरिनेछ।

महासंघका अनुसार रोनाल्डोमाथि यसअघि लागू गरिएको स्वतः अस्थायी निलम्बनमा थप निलम्बनसमेत गरिएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया छिटो अघि बढाउने निर्णय गरिएको वक्तव्यमा उल्लेख छ।
रोनाल्डोले बुधबार राति सार्वजनिक गरेको लामो वक्तव्यमा अनुमति नलिई पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको विषयमा आफूले अनुशासनात्मक कारबाही भोग्नुपर्ने स्वीकार गरेका थिए।

महासंघले अक्टोबर १० मा उक्त प्रकरणलाई अनुशासनात्मक अनुसन्धान समितिमा पठाएको जनाएको छ। अनुसन्धान पूरा नभएसम्म घटनासम्बन्धी थप विवरण सार्वजनिक नगरिने पनि महासंघले स्पष्ट पारेको छ।
अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा रोनाल्डोमाथि थप कारबाही हुने वा नहुने विषय टुंगो लाग्नेछ।