गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकम्पारमा सोमबार बिहान पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएको आशंका गरिएको छ। स्थानीयका अनुसार पहिरोका कारण नदीको बहाव अवरुद्ध भएको हो।
गृहमन्त्री सुधन गुरुङको सचिवालयले जारी गरेको सूचनाअनुसार सोमबार बिहान १०:१० बजे छेकम्पारमा पहिरो गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। पहिरोका कारण बुढीगण्डकी नदी अवरुद्ध हुन सक्ने आशंका गरिएको सचिवालयले जनाएको छ।
पहिरोले नदी थुनिएर ठूलो जलाशय बनेको अवस्थामा एक्कासि बाँध फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा भीषण बाढी निम्त्याउन सक्ने जोखिम रहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बुढीगण्डकी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी किनारमा नजान र तत्काल सुरक्षित तथा अग्लो स्थानमा सर्न आग्रह गरिएको छ।
यो प्रारम्भिक सूचना भएकाले सर्वसाधारणलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनामा ध्यान दिनसमेत आग्रह गरिएको छ।
त्यस्तै, कुनै पनि विपद् वा आपत्कालीन अवस्था आएमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल-फ्री नम्बर १२३४ मा सम्पर्क गर्न भनिएको छ।






