नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। यससँगै शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना र जमरा राख्ने कार्य सुरु हुन्छ।

घटस्थापनाका दिन बिहानै नित्यकर्म सकेर चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोप्ने परम्परा छ। गाईको गोबरले लिपपोत गरी शुद्ध बनाइएको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक जौँ रोपेर जमरा राखिन्छ। विजयादशमीका दिन दुर्गा देवीको प्रसादका रूपमा टीकासँगै पहेँलो जमरा ग्रहण गर्ने चलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँबाहेक अन्य अन्न रोप्ने विधान छैन। यद्यपि, कतिपय समुदायमा कुल परम्पराअनुसार जौँसँगै अन्य अन्न पनि रोप्ने गरिन्छ। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गर्ने गरिएको छ।

आज बिहान ११ः४७ बजे घटस्थापनाको साइत

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः४७ बजे घटस्थापनाको उत्तम साइत निर्धारण गरेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र रहने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत तय गरिएको हो।

सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताका आधारमा आजकै दिनलाई घटस्थापनाका लागि उपयुक्त ठहर गरिएको समितिले जनाएको छ। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको हल्ला शास्त्रसम्मत नभएको समितिका अध्यक्ष भट्टराईले स्पष्ट पार्नुभएको छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशमा दुर्गा देवीको आह्वान गरी पूजा आराधना गरिन्छ। सोही कलशको जलले विजयादशमीका दिन अभिषेक गरी देवीको प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा छ।

नौ दिन नौ दुर्गाको पूजा

बडादसैँको नवरात्र अवधिमा दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपलाई पनि नवरात्रभर विशेष रूपमा पूजा गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा आराधना गर्ने चलन छ।

धार्मिक मान्यताअनुसार दुर्गा देवीले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत आसुरी शक्तिको विनाश गरी सत्य र धर्मको रक्षा गरेकी हुन्। त्यसैले बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ।

धर्मशास्त्रविद् गौतमका अनुसार दुर्गा पूजा र दसैँ कुनै जाति वा धर्मविशेषमा सीमित पर्व होइन। यस अवसरमा देवीको प्रतीकका रूपमा महानवमीसम्म प्रत्येक दिन फरक–फरक कन्याको पूजा गर्ने परम्परा पनि छ। शास्त्रीय विधानअनुसार कन्याको उमेर दुई वर्षभन्दा माथि हुनुपर्छ।

नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठपारायण गरिन्छ। यस अवधिमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

दसैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्परा छ। महाअष्टमी र महानवमीका दिन दसैँ घर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ। परम्पराअनुसार बलि दिने स्थानमा बलिसहित पूजा आराधना पनि गरिन्छ।

विजयादशमीको टीका साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

नवरात्रका नौ रात र दस दिनको धार्मिक अनुष्ठानपछि कात्तिक ४ गते बुधबार विजयादशमी मनाइनेछ। यस दिन दुर्गा देवीको विसर्जन गरी मान्यजनबाट टीका, जमरा, फूलप्रसाद र आशीर्वाद ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजयादशमीका दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको छ। टीका लगाउन साइत खोज्नेहरूका लागि बिहान १०ः२६ बजेको समय उत्तम रहेको समितिले जनाएको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने चलन छ। कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको व्रत बसी रातभर जाग्राम रहेर पूजा आराधना गर्ने परम्परा छ। यसरी पूजा र जाग्राम बस्नाले धन, ऐश्वर्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। घटस्थापनाका दिन राखिएको जमरा पनि कोजाग्रत पूर्णिमाका दिन चोखो स्थानमा लगेर विसर्जन गरिन्छ।

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा

काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजदेखि वैदिक विधिअनुसार जमरा राखेर दुर्गा देवीको पूजा आराधना सुरु गरिन्छ। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार चित्रा नक्षत्र र वैधृति योगसम्बन्धी पूजा तथा हवनपछि समितिले निर्धारण गरेको साइतमा घटस्थापना गरिन्छ।

बडादसैँलाई धार्मिक तथा सांस्कृतिक पर्वसँगै पारिवारिक पुनर्मिलनको अवसरका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन र अन्य कामका लागि घरबाहिर रहेका मानिस दसैँ मनाउन आफ्नो जन्मथलो फर्कने गर्छन्। परिवार तथा आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने र आपसी सद्भाव साटासाट गर्ने यस पर्वको विशेष महत्त्व छ।

दसैँका अवसरमा अधिकांश शैक्षिक संस्थाले बिदा दिने भएकाले राजधानी काठमाडौँसहित विभिन्न सहरी क्षेत्रबाट गाउँघर फर्किने यात्रुको चाप बढेको छ। सार्वजनिक यातायातमा यात्रुको भीड बढेसँगै दसैँ मनाउन घर फर्किनेहरूको चहलपहल पनि तीव्र बनेको छ।