काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि तल्लो तटीय क्षेत्रमा बाढीको बहाव बढेको छ। आइतबार बिहान करिब साढे ५ बजे ठूलो पहिरो खसेर नदी थुनिएको खबर स्थानीय होटल सञ्चालकहरूले प्रहरीलाई दिएका थिए।
नदी थुनिएको खबर प्राप्त हुनासाथ तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बताए।
पहिरोले थुनिएको नदीमा पानीको मात्रा बढ्दै जाँदा गेग्रानसहित पानी बग्न थालेपछि तल्लो क्षेत्रमा बाढीको बहाव बढेको प्रहरीले जनाएको छ।
बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री र धार्चे गाउँपालिकामा दुईवटा पुल बगाएको छ। चुमनुब्री–३ स्थित न्याक्चेत र सिर्दिबास बजार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी निरीक्षक कँडेलले जानकारी दिए। धार्चे गाउँपालिकामा रहेको मासीखोलाको पुल पनि बाढीले बगाएको छ।
बाढीले चुमनुब्रीस्थित न्याकफेदीका होटलहरू बगाएको छ भने घट्टेखोलामा सञ्चालित होटलहरूमा पानी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका–३ स्थित सल्लेरीमा घरहरू बगाएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि प्रहरी परिचालन गरिएको छ।
प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन र सम्भावित क्षतिको आकलन गर्न हेलिकोप्टरबाट हवाई निरीक्षण (रेकी) सुरु गरिएको छ। नदी थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन र नदी किनारबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।






