उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आइतबार साँझ अन्त्येष्टि गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी एक किशोरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको थियो ।

विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असिम कँडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि आइतबार साँझ ७ बजेपछि पोखराको सेती नदी किनारस्थित रामघाटमा अन्त्येष्टि गरिएको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र विद्यालय सञ्चालकबीच भएको वार्तामा मृतकका परिवारलाई जनही तीन लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको उनले बताए ।

सहमतिअनुसार मृतकका परिवारले बिमाबापतको रकमसमेत प्राप्त गर्नेछन् भने विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछ ।

वडाध्यक्ष लामिछानेका अनुसार बाँकी दुई जनाको अन्त्येष्टि भने परिवारका सदस्य विदेशबाट आएपछि गरिनेछ । दुर्घटनामा मृत्यु भएकी विद्यार्थी रुमिका नेपालीका बुबा विदेशबाट आउँदै छन् भने बाबुराम तिवारीका छोरा पनि विदेशमा रहेका छन् ।

यसैबीच, दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मी कँडेललाई आइतबार साँझ ४ः४५ बजे मुस्ताङ एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित बी एन्ड बी अस्पताल लगिएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी उनलाई थप उपचारका लागि काठमाडौं पठाएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचारपछि तीन जना घर फर्किएका छन् भने गण्डकी मेडिकल कलेजमा तीन जनाको उपचार भइरहेको छ ।