तनहुँ । बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत भएका छन्। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार दूध बिक्रीको परिमाणका आधारमा किसानलाई पुरस्कृत गरिएको हो। सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी ८९ हजार १२८ लिटर दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएका छन्।
त्यसैगरी ५१ हजार ८१२ लिटर दूध बिक्री गर्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो र ४४ हजार ४४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो भएका छन्।
पुरस्कृत हुने अन्य किसानमा छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ, ओमप्रसाद लामिछाने सातौँ, इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराई दसौँ स्थानमा रहेका छन्।
त्यस्तै मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्रौँ, इन्दिरा घिमिरे चौधौँ र १८ हजार १८४ लिटर दूध उत्पादन गर्ने ओमप्रकाश गुरुङ पन्ध्रौँ स्थानमा रहँदै पुरस्कृत भएका छन्।
अध्यक्ष भट्टराईका अनुसार उत्कृष्ट किसानलाई तीन हजारदेखि ११ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको छ।
सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी १७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ।
पशुपालन तथा दुग्ध उत्पादनका लागि परिचित याम्पाफाँटका किसान लामो समयदेखि व्यावसायिक पशुपालनमा संलग्न छन्। दुग्ध उत्पादनलाई आम्दानीको प्रमुख स्रोत बनाउँदै आएका किसानले स्थानीय अर्थतन्त्रको विकास र कृषि उद्यम प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।






