ताप्लेजुङ – ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ । सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले ८४ हजार रुपैयाँमा झरेको हो ।
एक साताअघि प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँ कायम भएको व्यवसायीले बताएका छन् । नयाँ उत्पादन बजारमा आउन थालेसँगै मूल्यमा गिरावट आएको उनीहरूको भनाइ छ ।
अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानमा उत्पादित अलैँची बजारमा आउन थालेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताउए।
“ओसिलो क्षेत्रको अलैँचीले सिजनको सुरुआतमा राम्रो मूल्य पाएको थियो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ,” उनले भने ।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने उतारचढावले किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।
नयाँ उत्पादन बजारमा आउने क्रम बढ्दै जाँदा आगामी दिनमा अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।






