काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दसैँ मनाउन गाउँ फर्किन थालेका हुन्।
उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। परिवार तथा आफन्तसँग भेटघाट गरी दसैँ मनाउन घर फर्किने यात्रुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा काठमाडौँका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका हुन्।
दसैँका लागि घर फर्किने यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको छ। सडकको अवस्थाका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न नसक्दा यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न कठिनाइ भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले विभिन्न राष्ट्रिय राजमार्गमा आएको समस्याका कारण यातायात व्यवस्थापन प्रभावित भएको बताए।
“दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमै गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या भएको छ। यसले सवारीसाधन व्यवस्थापनमा कठिनाइ थपेको छ,” उनले भने।
महासचिव गौतमका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसक्रममा धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या भएको उनले बताए।
महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँ परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्धलाई प्रगाढ बनाउने प्रमुख चाड भएकाले रोजगारी, अध्ययन र व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस हरेक वर्ष ठूलो सङ्ख्यामा आफ्नो घर फर्किने गर्छन्।






