घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य जाँच र परामर्श सेवा प्रदान गरेको छ ।

‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय, त्यही हाम्रो सेवा’ भन्ने नारासहित गाउँपालिकाले एकीकृत घुम्ती सेवामार्फत टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सञ्चालन गरिएको कार्यक्रममा ज्येष्ठ नागरिक, ज्येष्ठ दलित नागरिक, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका दलित बालबालिकालाई समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माले जानकारी दिए ।

बैंकसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर भत्ता वितरण र स्वास्थ्य सेवा प्रदान गरिएको उनले बताए । भत्तासँगै सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएकाले लाभग्राहीलाई स्थानीयस्तरमै सेवा लिन सहज भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले असोज २२ देखि २९ गतेसम्म विभिन्न वडाका टोलमा सेवा सञ्चालन गर्ने तालिका बनाएको छ । वडा नं. १ अन्तर्गत देवीडाँडा आमासमूह भवन (तिलडाँडा) मा सोमबार सेवा प्रदान गरिएको छ भने समस्तीपुर (चौतारा) मा आज सेवा उपलब्ध गराइनेछ ।

त्यस्तै, वडा नं. २ को एक्लेफाँटमा असोज २३ गते सेवा सञ्चालन गरिएको थियो भने तिलबारी, नयाँगाउँ र डुम्रीखर्कमा सोमबार सेवा प्रदान गरिएको छ । ढापटार, नारीघाट, खानीखोला, ढकालटार, अदुवाखर्क, घोक्रिङखर्क र सहकारी टोलमा असोज २७, २८ र २९ गते सेवा उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन गाउँपालिकाले प्रभु बैंक लिमिटेडको बरादी शाखा तथा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एनएमबी बैंक र ज्योति विकास बैंकका आँबुखैरेनी शाखासँग समन्वय गरेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर भत्ता वितरण तथा स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सेवा लिन अनावश्यक दुःख र झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।

“नागरिकले सेवा लिन कार्यालय वा बैंकसम्म धाउनुपर्ने अवस्था कम गर्दै स्थानीय सरकार आफैँ नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो”, अध्यक्ष चुमानले भने ।