दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा । दसैँको रौनकले गाउँसहर छपक्कै छोपिएका बेला बाँकेका किसानलाई भने पाकेर पहेँलपुर बनेको धानबाली भित्र्याउने चटारो परेको छ। वर्षभरि खाने अन्न सुरक्षित रूपमा घर भित्र्याउनुपर्ने भएकाले किसानलाई दसैँको रमझमभन्दा खेतबारीको कामले बढी व्यस्त बनाएको छ।

धेरैजसो मानिस दसैँका लागि किनमेल गर्न, घर सजाउन र आफन्तसँग खुसी साटासाट गर्ने तयारीमा जुटिरहेका छन्। तर नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई भने खेतमा पाकेको धान वर्षाले बिगार्ने हो कि भन्ने चिन्ता छ।

“असारे हिलोमा बगाएको पसिना यतिबेला खेतभरि पहेँलपुर झुलेको छ। त्यसैले दसैँको टीका थाप्नुभन्दा पनि खेतको धान थन्क्याउने हतारो छ,” थापाले भने, “अहिले धान भित्र्याउन सकिएन भने ठूलो क्षति हुन सक्छ। त्यसैले हाम्रा लागि दसैँको रौनकभन्दा धान भित्र्याउने चटारो महत्त्वपूर्ण बनेको छ।”

गत असारमा रोपिएको धान पाकेर खेतमा झुलेको छ। तर, वर्षा भए पाकेको बालीमा क्षति पुग्ने जोखिम रहेकाले किसानलाई दसैँ मनाउनुभन्दा धान काटेर सुरक्षित रूपमा भित्र्याउने चिन्ता बढी छ। गत साता भएको ठूलो वर्षाका कारण धान काट्न नसकिएको बताउँदै थापाले केही दिनदेखि पानी रोकिएपछि खेताला लगाएर धान काट्ने र भित्र्याउने काम सुरु गरेको जानकारी दिए।

विगतका वर्षमा दसैँ सकिएपछि धान भित्र्याउने समय आउने गरे पनि यस वर्ष दसैँ र धान पाक्ने समय एकैपटक परेकाले किसानलाई कामको चाप बढेको छ। राप्ती सोनारी गाउँपालिका–५ का किसान अशोक वलीका अनुसार गाउँघरमा दसैँको उल्लाससँगै खेतबारीको कामको हतारो पनि उत्तिकै देखिएको छ।

“धान काट्ने बेलामै ठूलो वर्षा भयो। केही दिनदेखि पानी रोकिएकाले धेरै किसान धान काट्न र भित्र्याउनमै व्यस्त छौँ,” वलीले भने, “एकातिर धान भित्र्याउनुपर्ने छ भने अर्कोतिर बारीमा गहुँ छर्ने समय भइसकेको छ। एकैपटक धेरै काम थपिएकाले यसपालिको दसैँ अघिल्ला वर्षजस्तो फुर्सदिलो र रमाइलो हुने देखिँदैन।”

राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले पनि वर्षाका कारण रोकिएको धान काट्ने काम अहिले किसानले अर्मपर्म गरेर अघि बढाइरहेको बताए।

उनका अनुसार यस वर्ष समयमै मनसुन सुरु भएकाले बाँकेमा धानको उत्पादन राम्रो भएको छ। खेतमा धानका बाला राम्ररी झुलेका छन्। तर, पाकेको धान समयमै भित्र्याउन नसके वर्षा तथा असिनापानीका कारण क्षति पुग्न सक्ने जोखिम अझै कायमै छ।

“आकाशमा अलिकति बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ। मिहिनेतअनुसार धान राम्रो भएको छ, तर समयमै घर भित्र्याउन नसके असिनापानीले नोक्सान पुर्‍याउन सक्छ,” चौधरीले भने, “किसानका लागि यसपालि धानखेती सुरक्षित रूपमा घर भित्र्याउन पाउनु नै सबैभन्दा ठूलो खुसी हुनेछ।”

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार धान पाकेर काट्ने समयमा वर्षा हुने डरले किसान अहिले धमाधम बाली भित्र्याउन लागेका छन्।

जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष भने ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको शर्माले जानकारी दिइन्।

दसैँको चहलपहलका बीच बाँकेका किसानका लागि अहिले पाकेको धान सुरक्षित रूपमा भित्र्याउनु नै मुख्य प्राथमिकता बनेको छ। वर्षभरको मेहनत खेर नजाओस् भन्ने आशामा उनीहरू मौसम अनुकूल रहोस् भन्दै खेतबारीमै व्यस्त छन्।

रासस