काठमाडौं – रोहित पौडेलको अर्धशतक र करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको हो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै, करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे ।
अर्जुन कुमालले ४० रन बनाउँदा बसिर अहमद र इशान पाण्डेले समान ३७ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
ओमानका लागि शाह फैसल, शकील अहमद र करण सोनाभालेले समान दुई विकेट लिए भने हस्नेन शाहले एक विकेट हात पारे ।
लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ । ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा रहँदा क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ ।






