डिलरमार्फत नै ग्यास खरिद गर्न सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई नजिकैको डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको छ।

एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न काठमाडौँ उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइए पनि त्यसबाट उपभोक्तालाई असुविधा भएको भन्दै सङ्घले डिलरमार्फत ग्यास खरिद गर्न अनुरोध गरेको हो।

सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आफू नजिकको डिलरमा गएर ग्यास खरिद गर्न आग्रह गर्नुभएको छ।

नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घको समन्वयमा उपत्यकामा बजारमा उपलब्ध सबै ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको थियो। तर, विभिन्न स्थानबाट ग्यास बिक्री गर्दा उपभोक्तालाई असहज भएको गुनासो आएपछि सङ्घले नियमित डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो।