यी हुन् बाढीपहिरोका कारण प्रभावित राजमार्गहरू(सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण गण्डकी प्रदेशका म्याग्दी, नवलपरासी पूर्व र गोरखाका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। सडक अवरुद्ध तथा एकतर्फी सञ्चालनमा आउँदा यातायात आवागमनमा समस्या भएको छ।

नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा कालिगण्डकी करिडोर प्रभावित भएको छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।

यसैगरी, बूढीगण्डकीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुलमा क्षति पुर्‍याएको छ। बाढीले गोरखाको आरुघाटबाट धादिङ जोड्ने नयाँपुलसमेत पूर्ण रूपमा क्षति पुर्‍याएपछि उक्त सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रभावित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।