विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरेको थियो। विपद्का कारण रोकिएको अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरिएको पार्टीले जनाएको छ।

पार्टीका सचिव केदार खड्काका अनुसार नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन पुनःसञ्चालन गरिएको हो।

पार्टीले आफ्ना सबै प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनःसुरु गर्न आह्वानसमेत गरेको छ।