महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं । दसैँ नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका प्रमुख बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । चाडपर्वका लागि लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्नेको चहलपहल भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका क्षेत्रमा बाक्लिएको छ ।

दसैँको तयारीमा बजारमा भीड बढे पनि महँगीका कारण चाडपर्व मनाउन कठिन हुँदै गएको उपभोक्ताले गुनासो गरेका छन् । गत भदौ १० गतेको भोटेकोशी बाढीपछि चीनसँग जोडिएका दुई प्रमुख व्यापारिक नाका अवरुद्ध हुँदा अघिल्लो वर्षको तुलनामा लत्ताकपडालगायतका वस्तुको मूल्य बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्यसमेत बढेको उनीहरूको भनाइ छ ।

काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढ्दै जाँदा चाडपर्व मनाउनसमेत कठिन हुन थालेको बताए ।

‘जिरा मसिनो चामलको एक बोरामै तीन सय रुपैयाँ मूल्य बढेको छ,’ उनले भने, ‘दसैँमा खानुपर्ने खसीको मासुको मूल्य पनि प्रतिकिलो तीनदेखि चार सय रुपैयाँसम्म बढेको छ । न्यून आय भएका परिवारलाई दसैँ मनाउनसमेत मुस्किल हुने देखिएको छ ।’

तिनकुनेकी स्मिता खत्रीको अनुभव पनि उस्तै छ । लत्ताकपडाको मूल्य बढे पनि उनले जेनतेन आफ्ना तीन सन्तानका लागि दसैँमा नयाँ लुगा किनिदिएकी छन् ।

‘दसैँमा एकसरो लुगा त फेरिदिनैपर्‍यो,’ उनले भनिन्, ‘सीमित आम्दानी हुनेका लागि दसैँ दशाजस्तै हुने अवस्था छ । नमनाएर पनि भएन ।’

न्यून आम्दानी भएका परिवारलाई चाडपर्वको खर्च व्यवस्थापन गर्न झन् कठिन भएको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस वर्ष खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीको मूल्यमा उल्लेख्य वृद्धि भएको बताए ।

‘बजारमा सबैखाले खाद्यान्नको मूल्य बढेको छ,’ उनले भने, ‘ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थसम्मको मूल्य आकासिएको छ ।’

उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । आपूर्ति शृङ्खला व्यवस्थित गर्दै बजारमा मूल्य नियन्त्रणका लागि सरकारले आवश्यक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा व्यापार तथा वस्तु आयातमा समस्या भएको बताए ।

‘चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा ठूलो असर परेको छ,’ उनले भने, ‘दसैँलगायत चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ मूल्यका सामान नाकामै रोकिएका छन् ।’

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार अहिले दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन भइरहेको छ ।

अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा वस्तु बिक्री गर्ने व्यापारी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनले बताए ।

महानिर्देशक शाक्यले सबै व्यापारी तथा व्यवसायीलाई वस्तु तथा सामग्री तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न आग्रह गरेका छन् ।