काठमाडौँ ।मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन गर्नुपर्ने भएकाले सुनुवाइ प्रक्रिया टुङ्गिन बाँकी रहेको जानकारी दिए ।
समितिको आजको बैठकमा प्रस्तावित राजदूत खरेलसँग स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखराको जग्गा खरिदमा अनियमिततालगायत विषयमा प्रश्न उठाइएको थियो ।
सभापति श्रेष्ठले विवादबारे थप सूचना आवश्यक भएकाले समितिलाई अध्ययनका लागि समय चाहिएको बताए ।
परराष्ट्र ऐनमै उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै उनले समितिले त्यसको अध्ययन तथा रुजु गर्नुपर्ने आवश्यकता औँल्याए । थप अध्ययनपछि आवश्यक निर्णय गरिने र ढिलाइ भएमा सचिवालयमार्फत जानकारी गराइने सभापति श्रेष्ठले बताए ।
“आएका केही विवादास्पद विषयबारे थप जानकारी लिन हामी सबैलाई समय चाहिएको छ”, उनले भने, “प्रस्तावित राजदूत खरेल पनि अन्यायमा पर्नु हुँदैन र समितिले पनि विवादमा पर्नेगरी काम गर्नु हुँदैन ।”
सुनुवाइका क्रममा प्रस्तावित राजदूत खरेलले आफूविरुद्ध उठाइएका केही विषयबारे प्रष्ट पार्ने कोसिस गरेका थिए ।






