जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

जुम्ला । शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ।

पछिल्लो पाँच महिनामा जुम्लाका २२० जनाले घरमै राहदानी प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाका प्रमुख नरबहादुर बुढाका अनुसार जिल्ला हुलाक कार्यालयसँग भएको सम्झौताअनुसार चालु आर्थिक वर्षको भदौसम्म १९८ जनालाई घरदैलोमै राहदानी वितरण गरिएको छ।

गत आर्थिक वर्षमा जिल्लाका ९७२ जनाले हुलाकमार्फत घरमै राहदानी प्राप्त गरेका थिए। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १९८ जनाले यो सेवा लिएका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालयका अनुसार जुम्लामा हालसम्म आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्।