सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी घटनास्थलमा खटिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

संयुक्त सुरक्षा टोलीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको छ । दुर्घटना के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।