डडेल्धुरा । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा अवस्थित मन्दिरमा अष्टमी मेला भर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन् ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलामा राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा छ । दसैँका दिन पनि मन्दिरमा विशेष पूजाआजा गरिने उनले बताए ।
मेलामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका साथै देशका अन्य क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् ।
उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्ये एक मानिन्छ । धार्मिक किंवदन्तीअनुसार करिब दुई हजार पाँच सय वर्षअघि हालको अमरगढी नगरपालिका–८ स्थित लटाउली गाउँमा एक स्थानीयले बारी जोत्ने क्रममा हलोको फाली शिलामा लाग्दा रगत बगेको थियो । त्यसपछि देवी प्रकट भई दर्शन दिएको धार्मिक विश्वास रहिआएको छ ।
त्यसयता उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपमा पूजा गर्दै आइएको छ । लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डितहरू अहिले पनि मन्दिरमा पुजारीका रूपमा कार्यरत छन् ।
विशाल फाँटको डाँडामाथि अवस्थित मन्दिरसम्म पुग्न ओरालो झर्नु नपर्ने विशेषता रहेको अध्यक्ष साँकी बताउँछन् ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजासहित ठूलो मेला पनि लाग्ने गर्छ । ‘देइजात’ नामले परिचित उक्त मेलाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको छ ।
जनविश्वासअनुसार प्राचीनकालमा विभिन्न गर्खाका लडाकुबीच वीरता प्रदर्शन गर्ने क्रममा भीषण युद्ध भएको थियो । उक्त युद्धमा रगतको खोला बगेको किंवदन्ती छ । सोही घटनासँग जोडिएको स्थानलाई स्थानीयले ‘न्वाखोला’ नामले चिन्ने गरेका छन् ।






