काठमाडौं । दाना पदार्थ (दोस्रो संशोधन) नियमावली, २०८३ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। मन्त्रिपरिषद्को २०८३ असोज ३० गते बसेको बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै दाना उद्योगको अनुज्ञापत्र तथा नियमनसम्बन्धी जिम्मेवारी पशु सेवा विभागअन्तर्गत ल्याउने बाटो खुलेको छ।
यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत रहेको दाना पदार्थसम्बन्धी नियामक व्यवस्था अब पशु सेवा विभागअन्तर्गत आउने भएको हो। दाना पदार्थको नियमन पशुपन्छी क्षेत्रको प्राविधिक नियामक निकायअन्तर्गत हुनुपर्ने माग लामो समयदेखि उठ्दै आए पनि त्यसले मूर्तरूप लिन सकेको थिएन। नयाँ सरकार गठन भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयअन्तर्गत गएसँगै दाना पदार्थसम्बन्धी नियमन पशु सेवा विभागअन्तर्गत ल्याउने प्रयास सफल भएको हो।
सात वर्षअघि नै भएको थियो संसदीय निर्देशन
दाना पदार्थको नियमन पशु सेवा विभागअन्तर्गत ल्याउनुपर्ने विषय अहिले मात्र उठेको होइन। यसका लागि करिब सात वर्षअघि नै संसदीय समितिले स्पष्ट निर्देशन दिएको थियो। २०७६ असार २४ गते तत्कालीन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले औषधि ऐनअन्तर्गतका अधिकारलगायत दाना पदार्थसम्बन्धी अधिकारसमेत पशु सेवा विभागअन्तर्गत ल्याउन निर्देशन दिएको थियो।
नेपाल भेटेरिनरी एशोसिएसन, नेपाल दाना उद्योग संघलगायत विभिन्न निकायले दाना पदार्थको नियमन पशु सेवा विभागअन्तर्गत हुनुपर्ने भन्दै निरन्तर पैरवी र दबाब दिँदै आएका थिए। यस विषयले संसदीय समितिमा समेत पटक–पटक प्रवेश पाएको थियो। तत्कालीन समयमा नेपालमा सञ्चालित केही दाना उद्योगको अवस्थाबारे बुझ्न संसदीय समितिको टोलीले स्थलगत अवलोकन भ्रमणसमेत गरेको थियो।
त्यसबेलाको प्रयास र गतिविधिबारे डा. नरेशप्रसाद जोशी स्मरण गर्छन्। संसदीय समितिको स्पष्ट निर्देशन र सरोकारवाला निकायहरूको निरन्तर पैरवीका बाबजुद दाना पदार्थको नियमनसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउन करिब सात वर्ष लाग्नुले सरकारी निर्णय कार्यान्वयनको सुस्ततालाई पनि उजागर गरेको छ।

अनुज्ञापत्रको अवधि दुई वर्ष
संशोधित नियमावलीले दाना उद्योगले अनुज्ञापत्र लिनुपर्ने व्यवस्थालाई निरन्तरता दिँदै यसको अवधि बढाएको छ। दाना उद्योग स्थापना गरेपछि दाना पदार्थको बिक्रीका लागि उत्पादन सुरु गर्नुअघि उत्पादित दानाको प्रयोगशाला परीक्षण प्रतिवेदनसहित पशु सेवा विभागबाट अनुज्ञापत्र लिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि एक वर्षका लागि जारी हुने अनुज्ञापत्रको अवधि अब दुई वर्ष हुने भएको छ।
त्यस्तै, नियमावलीमा दाना निरीक्षक नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यता र व्यावसायिक दर्तासम्बन्धी व्यवस्था पनि समेटिएको छ। राष्ट्रिय पशु आहारा अनुसन्धान केन्द्रले दाना निरीक्षक नियुक्त गर्दा कम्तीमा बीभीएस्सी एन्ड एएच वा सोसरह उत्तीर्ण गरी नेपाल भेटेरिनरी काउन्सिलमा दर्ता भएको व्यक्ति हुनुपर्नेछ।
त्यसैगरी, बीएस्सी एनिमल साइन्स, बीटेकएड (लाइभस्टक), बीएस्सी फिसरिज वा सोसरह उत्तीर्ण गरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा दर्ता भएको व्यक्ति पनि दाना निरीक्षक नियुक्त हुन योग्य हुने व्यवस्था गरिएको छ।
पशुपन्छीको स्वास्थ्य, उत्पादन र उत्पादकत्वमा दानाको गुणस्तरले प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले दाना उद्योगको नियमनलाई पशु सेवा क्षेत्रअन्तर्गत ल्याइनुलाई पशुपन्छी स्वास्थ्य तथा उत्पादन प्रणालीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।





