मधेशमा नयाँ सरकार गठनका लागि एमाले र जसपा नेपालबीच छलफल

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका नेताहरूबीच आज सरकार गठनका विषयमा छलफल भएको हो । छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए ।

छलफलमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा कुराकानी भएको एक नेताले बताएका छन् । उनका अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएर नयाँ गठबन्धन निर्माण गर्ने प्रयास भइरहेको छ ।

यसअघि शुक्रबार एमालेले नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक गतिविधि तीव्र बनेको हो ।

एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : उपेन्द्र यादव

यता, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेसँग सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै नीति नलिएको र कसैसँग समझदारीसमेत नगरेको बताएका हुन् ।

उनले तत्काल एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुने सम्भावना नरहेको पनि उल्लेख गरेका छन् ।

‘जनता समाजवादी पार्टी, नेपाल वर्तमान अवस्थामा नेकपा (एमाले)सँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरेको छ, न त कुनै नीति नै लिएको छ, न कसैसँग कुनै समझदारी नै गरेको छ,’ यादवले लेखेका छन्, ‘तत्काल यो सम्भव पनि नरहेको अवस्था छ ।’

मधेश प्रदेशसभामा जसपा नेपाल ठूलो दल

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपाल २७ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । एमाले २३ सिटसहित दोस्रो स्थानमा छ ।

त्यस्तै, नेपाली कांग्रेससँग २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग १५ सिट रहेको छ ।

मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । यस्तो अवस्थामा नयाँ सरकार गठन गर्न दलहरूबीच गठबन्धन निर्माण र बहुमत जुटाउने प्रयास निर्णायक हुने देखिएको छ ।