भरतपुरमा संक्रमित युवतीको मृत्यु

कात्तिक ६, चितवन ।
भरतपुरको सरकारी अस्पतालमा कोरोना लागेकी युवतीको मृत्यु भएको छ ।

मृतकमा तनहुँ घर भइ हेटौँडा बस्दै आएकी ३३ वर्षिया युवती छिन् । बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनी असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । सोही दिन उनमा संक्रमण पुष्टि भएको थियो । ती महिला ३७ साताकी गर्भवती रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि उनलाई बुधबार भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान सवा ६ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।