महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी जागिरसँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको प्रेरणादायी उदाहरण बनेका छन्।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा ११ वर्षदेखि कार्यरत पन्तले विगत चार वर्षदेखि महेन्द्रनगर बजारका गल्लीगल्लीमा साइकलमार्फत ड्रागन फ्रुट बिक्री गर्दै आएका छन्।
उनका अनुसार बिहान करिब एकदेखि डेढ घण्टा र साँझ कार्यालय समय सकिएपछि बजारमा पुगेर ड्रागन फ्रुट बिक्री गर्ने गर्छन्। “व्यापार गर्न गएको दिन दैनिक एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म नाफा हुन्छ,” उनले भने।
पन्तले स्थानीय उत्पादनसँगै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट ड्रागन फ्रुट ल्याएर थोक तथा खुद्रा बिक्री गर्दै आएका छन्। बजारमा यसको माग उच्च रहेकाले फुर्सदको समयलाई आयआर्जनमा रूपान्तरण गरेको उनको भनाइ छ।
“यो व्यापार सुरु गरेपछि तलब बचत हुन थालेको छ, घरखर्च पनि यही व्यापारबाट चलिरहेको छ,” उनले बताए।
उनले विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा श्रम गर्न हिच्किचाउने सोच परिवर्तन हुनुपर्नेमा जोड दिए। आफ्ना भाइ र बुहारीलाई भारतको रोजगारी छाडेर यही व्यापारमा लगाएको उल्लेख गर्दै उनले बुहारीले पनि ड्रागन फ्रुट बिक्रीबाट मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म बचत गरिरहेको जानकारी दिए।
हाल उनले ड्रागन फ्रुट प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। बजारको समस्या नरहेको बताउँदै उनले युवा वर्ग कृषि, व्यापार तथा अन्य आयमूलक क्षेत्रमा सक्रिय हुनुपर्ने र सरकारले पनि युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।






