सुरक्षा परिषद् बैठकमा कोभिडबारे छलफल

कात्तिक ६, काठमाडौं ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बुधबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । उक्त बैठकमा कोरोना केन्द्रीत कुराकानी भएको एक सुरक्षा स्रोतले बताए ।

परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, कोभिड–१९ को संकट, मुुलुकको अन्य सुरक्षा अवस्थालगायत विषयमा छलफल भएको छ ।

बैठकमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थिति रहेको थियो ।

हालै रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएका उपप्रधानमन्त्री ईश्वर पोखरेल भने बैठकमा आमन्त्रित सदस्यका रूपमा उपस्थित थिए ।

नेपाली सेनाले आफ्नो तीनदिने पृतना समन्वय बैठक सम्पन्न गरेको भोलिपल्ट परिषद्को बैठक राखिएको हो जसमा प्रधानसेनापति थापाले सेनाका ८ वटै पृतनाबाट प्राप्त सूचनाका आधारमा सुरक्षाको मूल्यांकनबारे बैठकमा जानकारी गराएका थिए । कोभिड–१९ नियन्त्रणमा सेनाले खेलेको भूमिकाबारे पनि जानकारी दिइएको स्रोतको भनाइ छ ।