नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, यस्तो छ पार्टीको अपिल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि दुई महिने राष्ट्रिय जागरण अभियान औपचारिक रूपमा सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी अभियानको उद्घाटन गरिएको हो।

अभियानको उद्घाटन गर्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे जनतालाई जानकारी गराउने उद्देश्यसहित अपिल जारी गरेका छन्।

अपिलमा देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै दुई तिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको दाबी गरिएको छ। महँगी, बेरोजगारी, युवा पलायन तथा किसान, मजदुर र व्यवसायीले भोगिरहेका समस्यालाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

नेकपाले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्दै लोकतन्त्र, नागरिक अधिकार र संविधानका उपलब्धि संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। अपिलमा अभिव्यक्ति स्वतन्त्रता, फरक मत राख्ने अधिकार र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप हुन नहुने उल्लेख छ।

पार्टीले विगतका आफ्ना काम, कमजोरी र गल्तीको समीक्षा गर्दै जनताको विश्वास पुनः मजबुत बनाउनुपर्ने आवश्यकता पनि औँल्याएको छ। जनमुखी राजनीतिभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेकपाले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानलाई संगठन विस्तार तथा सुदृढीकरण, जनअधिकारको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका समस्या समाधानमा केन्द्रित गर्ने जनाएको छ।

अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अपाङ्गता भएका व्यक्ति, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने अपिलमा उल्लेख छ।

पार्टीले महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे जनताबाट सुझाव तथा गुनासा सङ्कलन गर्ने जनाएको छ। प्राप्त समस्यालाई सम्बन्धित स्थानीय, प्रदेश तथा सङ्घीय निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने र त्यसको प्रगतिबारे जनतालाई जानकारी गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

यसैगरी, विभिन्न क्षेत्रमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेकपाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा देखिएको लापरबाहीप्रति आपत्ति जनाएको छ।

विपद्का बेला नागरिकको जीवन रक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै पार्टीले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ। प्रभावित परिवारको सुरक्षित पुनःस्थापना तथा सडक, पुल, खानेपानी, सञ्चार र विद्युत्‌लगायत क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि आग्रह गरिएको छ।

अपिलमा समाजवाद निर्माणलाई देशका आधारभूत समस्याको दीर्घकालीन समाधानसँग जोड्दै उत्पादन वृद्धि, राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिइएको छ। आर्थिक परनिर्भरता घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने नेकपाको भनाइ छ।

अभियानसँगै पार्टी सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गरिने जनाइएको छ। पार्टी तथा जनसंगठनका बैठक, भेला, प्रशिक्षण र अन्य कार्यक्रममार्फत संगठनलाई जनताको सेवामा परिचालन गर्ने लक्ष्यसमेत राखिएको छ।

पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ विनम्रतापूर्वक प्रस्तुत हुन, उनीहरूका समस्या र आलोचना सुन्न तथा आफ्ना कमजोरी सच्याउन आग्रह गर्दै नेकपाले जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्नेमा जोड दिएको छ।

अन्त्यमा, पार्टीले आम नागरिक, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय र निजी क्षेत्रलाई राष्ट्रिय हित तथा जनजीविकाका साझा सवालमा संवाद र सहकार्य गर्न आह्वान गरेको छ। संविधान र लोकतन्त्रको रक्षा, भ्रष्टाचार तथा बेथितिविरुद्ध आवाज उठाउने, विपद् प्रभावितको पुनःस्थापना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई अभियानका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।