अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन पेन्टिङको काम गर्दै आउनुभएको छ । कक्षा १२ उत्तीर्ण गरी स्नातक तहको अध्ययन पूरा गर्ने लक्ष्य राख्नुभएका उहाँले करिब सात महिनादेखि पेन्टिङको काम गर्दै मासिक २५ हजार रुपैयाँ बचत गर्दै आउनुभएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले अध्ययनका लागि परिवारमा मात्र निर्भर हुन नसकेपछि काम गर्न थालेको उहाँ बताउनुहुन्छ । घरको जेठो छोरा दीपकका भाइ पनि अध्ययनरत छन् भने बुबाआमा खेतीपातीमा संलग्न हुनुहुन्छ । परिवारको आर्थिक भारलाई ध्यानमा राख्दै उहाँले पढाइसँगै कामलाई पनि निरन्तरता दिनुभएको हो ।

अध्ययन र रोजगारीलाई सँगसँगै अघि बढाउन सहज नभए पनि भविष्य निर्माणका लागि दुवैलाई निरन्तरता दिने उहाँको लक्ष्य छ ।

अमरगढी नगरपालिका–७ कै शिवराज भट्टराई पनि पेन्टिङको कामबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । विगत छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका उहाँले सुरुमा फुर्सदको समयमा पेन्टिङ गर्न थाल्नुभएको थियो । अहिले भने यसैलाई मुख्य पेसा बनाउनुभएको छ ।

शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उहाँले एक महिनामा करिब चारदेखि पाँचवटा घरमा पेन्टिङको काम सम्पन्न गर्नुहुन्छ । आठ जनाको समूहमा काम गर्दै आउनुभएका उहाँले आवश्यकताअनुसार अन्य व्यक्तिलाई पनि पेन्टिङको सीप सिकाउँदै आउनुभएको छ ।

यद्यपि, बर्खायाममा भने पेन्टिङको काम पाउन कठिन हुने उहाँको अनुभव छ । वर्षायाममा एकदेखि दुई महिनासम्म काम नपाइने समस्या रहेको शिवराज बताउनुहुन्छ ।

त्यस्तै, अमरगढी नगरपालिका–७ पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न हुनुहुन्छ । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किनुभएका उहाँले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गर्नुभएको हो । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका विक स्थानीयस्तरमै श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी हुनुहुन्छ ।

विदेशमा रोजगारी खोज्नुभन्दा आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सके आत्मनिर्भर बन्न सकिने उहाँको अनुभव छ । उहाँले अन्य युवालाई पनि सम्भव भएसम्म स्थानीयस्तरमै सीप सिकेर रोजगारीमा संलग्न हुन सुझाव दिनुभएको छ ।

दीपक, शिवराज र चेतका अनुभवले सीपमूलक काम युवाका लागि आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भर बन्ने माध्यमसमेत हुन सक्ने देखाएको छ । विशेषगरी अध्ययनरत युवाले आफ्नो पढाइ खर्च जुटाउन यस्ता कामलाई उपयोग गर्न सक्छन् भने सीप भएका युवाले यसलाई व्यावसायिक पेसाका रूपमा अघि बढाउन सक्छन् ।

स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवा लक्षित प्रोत्साहनका कार्यक्रम विस्तार गर्न सके पढ्दै कमाउने वातावरण निर्माण गर्न सहयोग पुग्ने देखिन्छ । यसले युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर खोज्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउनसमेत मद्दत पुर्‍याउन सक्छ ।