एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल बेलुकी ४ः३० बजे हुनेछ । चारवटै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछन् ।

गत संस्करणमा प्लेअफसम्म पुगेको विराटनगर यसपटक उपाधि जित्ने लक्ष्यमा छ । सोहीअनुसार विराटनगरले विदेशी खेलाडीको अनुबन्धमा पनि विशेष ध्यान दिएको छ । टोलीले यस सिजनका लागि आन्द्रे रसेल, चरिथ असलंका, शेहान जयसुर्या र एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरलाई बासिर अहमद, प्रतीश जिसी र लोकेश बमलगायतका राष्ट्रिय खेलाडीको साथ रहनेछ । बलियो विदेशी र घरेलु खेलाडीको संयोजनमा विराटनगर यसपटक उपाधिको प्रमुख दाबेदार बन्ने लक्ष्यमा छ ।

यता, अघिल्ला दुई संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको चितवन राइनोज यसपटक सुधारिएको प्रदर्शन गर्दै उपाधि दौडमा अघि बढ्न चाहन्छ । पहिलो संस्करणमा इलिमिनेटरसम्म पुगेको चितवन दोस्रो संस्करणमा भने लिग चरणबाटै बाहिरिएको थियो ।

चितवनले यस सिजनका लागि जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर राजालाई टोलीमा भित्र्याएको छ । अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनले गत सिजन खेलेका रवि बोपारा र डेबिड मलानलाई निरन्तरता दिँदै कालीम सानालाई पनि अनुबन्ध गरेको छ ।

चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, विवेककुमार यादव, रिजन ढकाल, मौसम ढकाल र कमलसिंह ऐरीलगायतका राष्ट्रिय खेलाडी छन् । अनुभवी विदेशी खेलाडी र प्रतिभाशाली नेपाली खेलाडीको साथमा चितवन यसपटक बलियो पुनरागमन गर्ने योजनामा छ ।

आजको दोस्रो खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । दुवै टोली गत संस्करणको निराशाजनक प्रदर्शन बिर्संदै नयाँ सुरुवात गर्न चाहन्छन् ।

पहिलो संस्करणको उपाधि जितेको जनकपुरले गत सिजन भने निकै कमजोर प्रदर्शन गरेको थियो । सात खेलमध्ये एकमा मात्रै जित निकाल्दै छ हार बेहोरेको जनकपुर अंकतालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

कर्णालीको प्रदर्शन पनि गत सिजन सन्तोषजनक रहन सकेन । सात खेलमध्ये दुईमा जित निकालेको कर्णाली छैटौँ स्थानमा सीमित भएको थियो । यसपटक टोली सुधारिएको प्रदर्शन गर्दै प्लेअफको दौडमा पुग्ने लक्ष्यमा छ ।

कर्णालीले विदेशी खेलाडीका रूपमा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ । यस्तै, पाकिस्तानका हुसेन तलत र साहिबजादा फरहानलाई पनि टोलीमा समावेश गरेको थियो । तर, पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिएपछि उनीहरूले आजको खेल गुमाउनेछन् ।

जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका चार टोलीबीचको प्रतिस्पर्धाले एनपीएलको दोस्रो दिनलाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।