दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा ५ हजार ३८४ पर्यटक

लमजुङ– यस वर्षको दशैं अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन उल्लेख्य रूपमा बढेको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म पाँच हजार ३८४ विदेशी पर्यटक पदमार्गमा पुगेका हुन्। गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए।

केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दुई हजार ६२७ पर्यटक बढी आएका छन्।

उनले मनास्लु क्षेत्रको पदमार्गमा बाढीपहिरोले क्षति पुर्‍याएपछि केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आकर्षित भएको बताए। यस वर्ष मौसम अनुकूल रहनु र मानिसमा घुमफिर गर्ने संस्कृति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ।

केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष अन्नपूर्ण पदमार्गमा भ्रमण गर्ने पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना रहेका छन्। त्यस्तै, सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट चार हजार ७७५ पर्यटक आएका छन्।

देशगत रूपमा सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन्। त्यसैगरी जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र संयुक्त राज्य अमेरिकाबाट ३५२ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ। हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती तथा स्थानीय संस्कृति अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय मानिन्छ।