काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार बिहीबारदेखि मौसम थप प्रभावित हुने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
आज राति देशभर साधारणतया बादल लाग्ने अनुमान छ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती र गण्डकीका हिमाली भू-भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी भू-भाग, मधेस र कोशीको तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। अन्य भू-भागमा आंशिक बादल लाग्ने अनुमान छ। कोशी र बागमतीका हिमाली भू-भागका केही स्थान तथा अन्य हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, कोशी र मधेसका थोरै स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
बिहीबार रातिदेखि भने मौसम थप प्रतिकूल हुने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा कर्णालीका केही र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी र बागमतीका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार पनि देशभर अधिकांश बदली रहने अनुमान छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली एवं पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली भू-भागमा अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली एवं पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी, मधेस, बागमती र गण्डकीका एक-दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सतर्कता अपनाउन आग्रह
महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न अनुरोध गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई उक्त अवधिमा यात्रा नगर्न वा सुरक्षित स्थानमा रहन पनि महाशाखाले सुझाव दिएको छ।
मौसम प्रतिकूल हुँदा चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुने जोखिम रहेको छ। त्यसैले सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी सूचनामा ध्यान दिन महाशाखाले सबैमा अपिल गरेको छ।






