कङ्गोमा इबोलाबाट संक्रमित हुनेको संख्या १० हजार नाघ्यो, झन्डै पाँच हजारको मृत्यु

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला प्रकोपबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ८८७ जनाको मृत्यु भएको छ ।

यसअनुसार संक्रमितमध्ये मृत्युदर ४८ दशमलव छ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार कङ्गोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा इबोलाको संक्रमण फैलिएको छ । पूर्वी प्रान्त इतुरी यस प्रकोपको मुख्य केन्द्र बनेको छ, जहाँ कुल संक्रमितमध्ये ७१ दशमलव सात प्रतिशत रहेका छन् ।

बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको प्रकोपबारे कङ्गोले मे १५ मा घोषणा गरेको थियो । त्यसयता कङ्गोबाहेक युगान्डा, केन्या र नाइजेरियामा समेत संक्रमण देखिएको छ । फ्रान्समा पनि बाहिरबाट भित्रिएको संक्रमणको एक घटना पुष्टि भएको थियो ।

इबोला भाइरसको बढी परिचित जाइरे प्रजातिभन्दा फरक बुन्दिबुग्यो प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन । यसले प्रकोप नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ ।

प्रतिवेदनमा यो प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको उल्लेख छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोप भएको जनाइएको छ ।