जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन जना मेडिकल अधिकृतलाई कार्यालयमा उपस्थित भई हाजिर हुन तीनदिने अन्तिम सूचना जारी गरेको छ।
प्रतिष्ठानको रजिस्ट्रार कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै मेडिकल अधिकृतहरू डा. सङ्गीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र डा. नवीनकुमार मण्डललाई तीन दिनभित्र अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन ताकेता गरेको हो।
प्रतिष्ठानका अनुसार उनीहरू मेडिकल अधिकृत पदमा कार्यरत थिए। परीक्षणकालसमेत पूरा नभएको र प्रतिष्ठानलाई उनीहरूको अध्ययन बिदा आवश्यक नरहेको भन्दै माग गरिएको बिदा अस्वीकृत गरिएको थियो। पटक–पटक कार्यालयमा हाजिर हुन आग्रह गर्दा पनि उनीहरू हालसम्म उपस्थित नभएको प्रतिष्ठानले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कार्यालयमा उपस्थित भई हाजिर हुन प्रतिष्ठानले अन्तिम पटक ताकेता गरेको छ।
तोकिएको समयभित्र पनि हाजिर हुन नआएमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ (संशोधनसहित २०८१) तथा प्रचलित कानुनबमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।






