कृषि विभागको महानिर्देशकमा शवनम शिवाकोटी, पदभार ग्रहण

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागको महानिर्देशकमा शवनम शिवाकोटी पदस्थापन भएकी छन्। मन्त्रालयको निर्णयअनुसार विभागमा पदस्थापन भएपछि उनले पदभार ग्रहण गरेकी हुन्।

कृषि क्षेत्रमा लामो प्रशासनिक तथा प्राविधिक अनुभव हासिल गरेकी शिवाकोटीले यसअघि मन्त्रालय तथा मातहतका विभिन्न निकायमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन्।

पदभार ग्रहण गरेपछि उनले कृषि क्षेत्रको समग्र सुधार, किसानका समसामयिक समस्या समाधान, गुणस्तरीय मल तथा बीउबिजनको उपलब्धता सुनिश्चित गर्ने र कृषि प्रविधिमा किसानको पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताएकी छन्। साथै, मन्त्रालयका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिने उनको भनाइ छ।

कृषि विभागमा अनुभवी नेतृत्व आएसँगै सेवा प्रवाह थप प्रभावकारी हुने र कृषि प्रसारका कार्यक्रमले गति लिने अपेक्षा कृषि क्षेत्रका सरोकारवालाहरूले गरेका छन्।