मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– नेपालमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन्। नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलका अनुसार नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ।

विश्व मस्तिष्कघात दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै पौडेलले मस्तिष्कघातको जोखिम र यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका हुन्। यस वर्ष ‘हरेक मिनेट महत्त्वपूर्ण हुन्छ’ भन्ने नाराका साथ नेपालमा पनि विश्व मस्तिष्कघात दिवस मनाइँदै छ।

पौडेलका अनुसार मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध हुँदा वा रक्तनली फुटेर रक्तस्राव हुँदा मस्तिष्कघात हुन्छ। यसका कारण मस्तिष्कमा अक्सिजन तथा आवश्यक पोषक तत्त्वको अभाव हुन सक्छ, जसले मस्तिष्कका कोषिकामा क्षति पुर्‍याउँछ।

नेपालमा मस्तिष्कघातको अवस्था अध्ययन तथा उपचारका उपायको खोजी गर्ने उद्देश्यले सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरिएको हो। सङ्घले मस्तिष्कघातको उपचारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सङ्घले जर्मनीको हाइडलबर्गस्थित युनिभर्सिटी हस्पिटलसँग सहकार्य गर्नुका साथै जिआइजेड र विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँग मिलेर मस्तिष्कघातसम्बन्धी क्षेत्रमा काम गर्दै आएको पौडेलले बताए।

उनका अनुसार मस्तिष्कघातबाट प्रभावितमध्ये ठूलो सङ्ख्यामा मानिसको अकालमा मृत्यु हुने वा दीर्घकालीन अपाङ्गताको सामना गर्नुपर्ने अवस्था छ। विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेको उनले जानकारी दिए। मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न सरकारले जनचेतना, समयमै पहिचान र उपचार सेवामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेपालजस्ता विकासोन्मुख देशमा मस्तिष्कघातको जोखिम उच्च रहेकाले यसको रोकथाम र उपचारलाई प्राथमिकता दिन आवश्यक रहेको पौडेलले बताए।

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, शारीरिक निष्क्रियता, असन्तुलित खानपान तथा मुटुको चालमा गडबडी मस्तिष्कघातका प्रमुख जोखिम कारक हुन्। यस्ता समस्याको समयमै पहिचान र नियन्त्रण गर्न सके मस्तिष्कघातको जोखिम कम गर्न सकिने चिकित्सकहरूको सुझाव छ।

मस्तिष्कघातका लक्षण देखिए तत्काल अस्पताल जानुहोस्

पौडेलका अनुसार शरीरको सन्तुलन गुम्नु, अनुहार बाङ्गिनु, आँखाको दृष्टि अचानक कमजोर हुनु वा गुम्नु, बोली लरबराउनु तथा हातखुट्टा कमजोर वा लुलो हुनु मस्तिष्कघातका प्रमुख लक्षण हुन्।

यस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुग्नुपर्छ। मस्तिष्कघातको प्रकार र अवस्थाअनुसार सुरुआती केही घण्टाभित्र उपचार सुरु गर्न सके मस्तिष्कमा हुने क्षति कम गर्न र बिरामीको ज्यान जोगाउन सकिन्छ।

मस्तिष्कघातको उपचार यसको कारण र प्रकृतिअनुसार फरक हुने गर्छ। रक्तनलीमा रगतको ढिक्का जमेर हुने मस्तिष्कघातमा उपयुक्त अवस्थामा रगतको ढिक्का हटाउने औषधि वा अन्य उपचार विधि प्रयोग गर्न सकिन्छ। तर, मस्तिष्कमा रक्तस्राव भएको अवस्थामा उपचार विधि फरक हुने भएकाले चिकित्सकीय परीक्षणबिना रगत पातलो बनाउने औषधि प्रयोग गर्नु हुँदैन।

उपचारपछि बिरामीको अवस्था सुधार गर्न फिजियोथेरापी तथा पुनःस्थापना सेवा पनि महत्त्वपूर्ण हुने पौडेलले बताए। मस्तिष्कघातबाट बच्न नियमित स्वास्थ्य परीक्षण, रक्तचाप र मधुमेह नियन्त्रण, सन्तुलित आहार, नियमित शारीरिक व्यायाम तथा धूमपानबाट टाढा रहन आवश्यक रहेको उनको सुझाव छ।

रासस