डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

इलाम । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औँ सत्याग्रह सुरु गरेका छन्। सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै उनले बिहीबार इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्।

सरकारलाई दिएको अल्टिमेटमको थप समयावधि सकिँदासमेत माग पूरा नभएपछि सत्याग्रहमा बस्न बाध्य भएको डा. केसीले बताएका छन्।

‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजेदेखि सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,’ उनले भनेका छन्।

सत्याग्रहबाट उत्पन्न हुन सक्ने विषम परिस्थितिको जिम्मेवार सरकार नै हुने चेतावनीसमेत उनले दिएका छन्।

डा. केसीले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुनेमा जोड दिएका छन्। चिकित्सा शिक्षा नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र भएकाले यसको गुणस्तर र निष्पक्ष नियमनमा कुनै सम्झौता गर्न नसकिने उनको भनाइ छ।

‘चिकित्सा शिक्षा व्यापारिक स्वार्थको साधन होइन, नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो। यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक संस्थाहरूको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन्।

चिकित्सा शिक्षा सुधार, सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालन तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ।