काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको हो ।
विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलको सामना गर्ने क्रममा नौ छक्का र तीन चौका प्रहार गरे ।
त्यस्तै, एन्जेलो डेभिस म्याथ्युजले ३१ रन बनाउँदा आन्द्रे रसेलले २७ रनको योगदान दिए ।
एक समय विराटनगरले २०० रनको आँकडा पार गर्ने संकेत देखाएको थियो । तर, कर्णालीका कप्तान सोमपाल कामीले आन्द्रे रसेल र म्याथ्युजलाई आउट गर्दै विराटनगरको रन गति नियन्त्रणमा लिए ।
बलिङतर्फ सोमपालले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । नन्दन यादव र मार्क वाटले समान एक–एक विकेट हात पारे ।
अब कर्णाली याक्सले जितका लागि १८७ रन बनाउनुपर्नेछ ।





