काठमाडौं- हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जोडेर सार्वजनिक भएका विषयमा नेपाल प्रहरीले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रहरी नेतृत्वविरुद्ध लगाइएका आरोपहरू पूर्ण रूपमा भ्रमपूर्ण र झुटा भएको दाबी गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले विज्ञप्तिमा उल्लेख गरेअनुसार, प्रहरी संगठनलाई कमजोर बनाउने वा सुरक्षा निकायलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने उद्देश्यले केही व्यक्तिहरूले यस्तो चालबाजी गरेका हुन्। प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।
यसै विषयमा बिहीबार प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठकसमेत आयोजना गरिएको थियो। उक्त बैठकमा सातै प्रदेशका प्रहरी प्रमुखहरू सहभागी थिए। दिनभर चलेको छलफलपछि प्रहरीले आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेको हो।





