बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी बन्द

काठमाडौं- बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा पाँचवटा सडक खण्ड अवरुद्ध भएका छन् । यसैबीच, जोखिम न्यूनीकरणका लागि कान्तिलोकपथमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।

गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको छ । पुल बगेसँगै ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ को पिन्थली र वडा-८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सुर्खेतको बराहताल गाउँपालिका-७ स्थित औलिसेमा सुक्खा पहिरो जाँदा कर्णाली राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ ।

सडक विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारीसाधन चलाउन नपाइने व्यवस्था गरेको छ । कात्तिक १३ र १४ गते, शुक्रबार र शनिबार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन बन्द गरिएको हो ।