काठमाडौं- चक्रवात अर्नबको अवशेषका रूपमा रहेको न्यून चापीय प्रणाली कमजोर बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली पश्चिमी वायुसँग अन्तरक्रिया गर्दै नेपालमा सक्रिय रहेको छ। शनिबार बिहानसम्म काठमाडौं उपत्यकामा यसको प्रभाव घट्ने क्रममा रहेको छ भने कोशी प्रदेशमा साँझसम्म मौसममा सुधार आउने अनुमान गरिएको छ।
हाल कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा मापन गरिएको छ। यसका साथै देशका उच्च हिमाली क्षेत्रमा भारी हिमपातको रिपोर्ट गरिएको छ। प्रमुख नदी प्रणालीहरू कोशी, गण्डकी, बागमती, कमला र कन्काईमा पानीको बहाव क्रमिक रूपमा बढे पनि हालसम्म कुनै ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
तापक्रमको अवस्था हेर्दा काठमाडौं र पोखरामा अधिकतम २२ देखि २४ डिग्री सेल्सियस र न्यूनतम १२ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस २ देखि ० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। वर्षाको सम्भावना काठमाडौं र पोखरामा ८० प्रतिशत, भैरहवा र सिमरामा ६० प्रतिशत तथा धनगढी र दिपायलमा ३० प्रतिशत रहेको छ।
मौसममा सुधार नआएसम्म किसानहरूलाई पाकेको धान काट्ने काम केही दिन पछि सार्न विभागले सुझाव दिएको छ। भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमका कारण ३१ अक्टोबरसम्मका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रमा ट्रेकिङ अनुमति निलम्बन गरिएको छ।






